Aafno Khabar

सीमा विवादको लागि भारत तयार छ : भाजपा नेता उपाध्याय

  • February 15, 2020 प्रकाशित

काठमाडौं । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले थपे,‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यौं, नेपाल त हाम्रो नजिकको छिमेकी हो ।

हामी ठूलो हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।’ उनले नेपाल र भारतबीच कुनै ठूलो बोर्डर समस्या नभएको पनि जिकिर गरे । उनले भने,‘यदि सानातिना विवाद भए हामी आपसमा बसेर यो समाधान गर्न तत्पर छौं । यसको लागि निरन्तर सम्वाद जरुरी छ ।’

आयुष मन्त्रालयका बोर्ड सदस्यसमेत रहेका नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन् ।