सिन्धुली । प्रेम दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत २२ वर्षीय प्रहरी जवान चन्द्रकिशोर रायले राखेको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गरेपछि रायले आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् । रायलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
उनका सहकर्मी साथीका अनुसार रायले ती महिलालाई एकतर्फी प्रेम गर्ने गरेको र आज प्रेम प्रस्ताव राख्दा पनि उनीहरुबीच बिवाद भएको बुझिएको छ । रायले राखेको प्रेम प्रस्ताव महिलाले अस्विकार गरेपछि महिलाले बोकेको पेस्तोल खोसेर रायले आफैलाई प्रहार गरेको बुझिएको छ ।
घाइते रायको अहिले प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ । ।