Aafno Khabar

वडाध्यक्षको दादागिरी, सेवाग्राहीमाथि अनाहकमा मुक्का प्रहार

  • January 21, 2020 प्रकाशित

चितवन । कालिका नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष टीका रिजालले चारकिल्ला लिन गएका सेवाग्राहीलाई मुक्का हानको छन् । वडा नम्बर ३ का अन्तराम चौधरीलाई रिमालले हातपात गरेको आरोप लगाएका छन।

पीडित अन्नतराम चौधरीले सोमबार जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनमा कारबाहीको माग गर्दै उजुरी दिएका छन् । पूर्व एमालेका वडा अध्यक्ष रिजालले केही आफ्ना मन पर्ने व्यक्ति बाहेक अन्य सेवाग्राहीलाई विभिन्न बखेडा झिक्दै दुःख दिने गरेको स्थानीयको गुनासो छ।

स्थानीय निर्वाचनपछि गाँउगाँउमा सिंहदरबार आएको महशुस गराउनु पर्ने दायित्व जनप्रतिनिधिको भएपनि उनले अन्य राजनैतिक विचारधार बोक्नेहरुलाई हातपातका साथै अपशब्द प्रयोग गर्ने गरेको स्थानीयहरूले पटक पटक गुनासो गर्दै आएका छन् ।

पीडित चौधरीका अनुसार बैँकबाट कर्जा लिनको लागि चारकिल्ला लिन गएका उनलाई सिफारिस दिन्न, जे गेरे पनि गर, भनेपछि विवाद सुरु भएको थियो । रिजालले चारकिल्लाको सिफारिस आफ्नो झोलामा राखेपछि चौधरीले पटक पटक माग्दा नदिएपछि उनी झोला भएको स्थानमा पुग्ने बेला आफूमाथि मुक्का प्रहार भएको बताए ।

यता वडा अध्यक्ष रिजालले भने यस बिषयमा चौधरी नियम बमोजीम नआएकोले भनाभन भएको बताउछन । वडा अध्यक्ष रिजालले घर दर्ताको प्रक्रिया पूरा नगरी आएको भन्दै उल्टै आफ्नो गल्ती छोप्न खोजेका छन् ।

सो घटनाका प्रत्यक्षदर्शी स्थानीय ८७ वर्षका रविलाल न्यूरेले वडा अध्यक्ष रिजालले अपशब्द प्रयोग गर्दै चौधरीलाई मुक्का प्रहार गरेको बताए । जनप्रतिनिधि भएर सेवाग्रहीलाई सम्झाई बुझाई घर पठाउने गर्नुपर्नेमा कुटपिट गर्नु लजास्पद भएको न्यूरेले बताए ।

हामी वडा नम्बर ३ का बासिन्दाहरु अध्यक्षदेखि आजित भएका छौ, यस्ता अध्यक्षसँग के अपेक्षा गर्ने उनले प्रश्न गरे । वडा नम्बर ३ को अध्यक्षमा निर्वाचित भएपछि रिजालले भेदभाव गर्दै केहि व्यक्तिको हितमा मात्र काम गर्ने गरेको उनको भनाइ थियो ।

वडा नम्बर ३ का नेता पुण्यप्रसाद कडुवालले नेकपा सरकारको दुई तिहाईको दम्भ स्थानीय तहमा पनि देखिएको बताए । अध्यक्ष रिजाल आफ्नै सहपाटि भएपनि राजनैतिक पूर्वाग्राहीका आधारमा अघि बढेको बताए ।

साढे २ वर्ष कठिनका साथ गुजारेका छौ, अब बाँकी साढे २ वर्ष कसरी बिताउने भनेर आजित भएका छौ । जनप्रतिनिधिले कुनै एक पार्टीको मात्र माग सम्बोधन गरेर हुँदैन, उनले भने, रिजालले विभिन्न समयमा नकारात्मक काम गर्दै अलोचित भइरहेका छन् ।

यसअघि वडा नम्बर ३ को कार्यालयमा चोरी र आगोलागी भएको थियो । आफ्ना कर्तुतहरु लुकाउन आँफै यस्तो कार्य गरेको हुनुपर्ने स्थानीयको आशंका छ । रिजालले सेवाग्राहीलाई मुक्का प्रहार भएपछि प्रसाशनसम्म पुगेर कारबाहीको माग गरिसकेका छन् ।