Aafno Khabar

मूर्ति भेटिएपछि साक्षत भगवानकाे रूप भन्दै स्थानीय हर्षित

  • २०७६ माघ ७ गते ०२:०० प्रकाशित

जुम्ला । पुरातात्त्विक महत्त्व बोकेको कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा रहेका बहुमूल्य धातुका मूर्तिमध्ये सबैभन्दा ठूलो भगवान्‌ दत्तात्रयको मूर्ति भेटिएको छ।

चन्दननाथ नगरपालिका-१ मा पर्ने दानज्युलोमा सोमवार बिहान मूर्ति भेटिएपछि मानिसहरूले स्थानीय प्रशासनलाई खबर गरेका थिए।

खेतमा पानी लगाउन गएका बेला आफूसहित तीन जनाले आलीमा मूर्ति देखेपछि स्थानीय प्रशासनलाई खबर गरेको तलिचौरका लोकेन्द्र हमालले बताए।

विस. २०७३ साल मङ्सिर ११ गते चोरी भएका मूर्तिमध्ये दत्तात्रय भगवान्‌को त्रिमुखा मूर्ति भेटिएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन्।

मूर्ति भेटिनासाथ स्थानीय बासिन्दाले बाजागाजासहित अबिरजात्रा गरेर जिल्ला प्रशासन कार्यालय जुम्ला पुर्‍याएका थिए।

चोरी भएको लामो समयपछि मूर्ति भेटिएपछि निकै खुशी लागेको चन्दननाथ नगरपालिकाकी एक महिला विष्णुमाया शाहीले बताइन्।

उनी मात्र होइन, चन्दननाथ भगवान्‌प्रति आस्था राख्ने जुम्लाका सबै स्थानीयवासी खुशी देखिन्छन्।

मूर्ति भेटिएपछि भगवान्‌प्रति झन् आस्था बढेको कतिपय स्थानीय बासिन्दाले बताए।

सात धार्नीको चाँदी, सुन र तामाबाट बनाइएको सबैभन्दा ठूलो दत्तात्रय भगवान्‌को मूर्ति भेटिएपछि बाँकी रहेका चारवटा मूर्ति पनि भेटिने आशा जागेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन्।

उनले भनिन्, “लागुऔषधको खानतलासी गर्ने क्रममा आफ्नो घरमा भेटिने हो कि भन्ने डरले मूर्तिलाई खेतको आलीमा लगेर फालिएको हुन सक्छ।”

चोरीमा संलग्न मानिसहरूको खोजी कार्यलाई चाहिँ जारी राखिएको उनले बताइन्।

चोरी भएका २९ वटा मूर्तिमध्ये गुठीचौर गाउँपालिकाको देपालगाउँ र चन्दननाथ नगरपालिकाको दानज्युलोमा दुई पटक गरी २५ वटा मुर्ति भेटिसकिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका सचिव रमानन्द आचार्यले बताए।

उनले भने, “भेटिएको मूर्तिलाई माघ १५ गते विधिपूर्वक पूजाआजा गरी मन्दिरमा पुनर्स्थापना गर्ने कार्यक्रम छ।”-बीबीसी