Aafno Khabar

अन्नपूर्ण यात्रामा हराएका ३ नेपालीसहित ४ पर्यटक अझै बेपत्ता

  • January 19, 2020 प्रकाशित

कास्की । अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् ।

सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् ।

त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ नेपाल (टान) पोखराका सचिव जीवनराम सापकोटाले बताउनुभयाे ।

कोरियाली पर्यटकहरु काठमाण्डाैकाे ‘ट्रिप नेपाल माउन्टेन गाइड’ नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेस क्याम्पतर्फ गएका थिए ।

बाक्लो हिउँको कारण उद्धारमा समस्या भएको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । पोखराबाट प्रहरी, गाइडहरु पुगे पनि पाँचदेखि सात फिटसम्म हिउँ जमेको कारण उद्धारमा समस्या भएको हो । अन्नपूर्ण आधार शिविर र माछापुच्छ्रे आधार शिविरमा रोकिएकाहरुलाई अन्नपूर्ण गाँउपालिका ११ काे छोम्रोङ्गमा झारिएको अध्यक्ष भुजेलले बताउनु भयाे । ‘एबीसीबाट ४० भन्दा बढी, एमबीसीबाट ३५/४० जना र देउरालीबाट २५/३० जनाको हाराहारीमा पर्यटक छोम्रोङ्गमा झरिसकेका छन्’ । छोम्रोङ्गमा झरेकाहरु केहीलाई हेलिकाेप्टरबाट शनिबार नै पोखरा ल्याइएको छ ।

शनिबार पोखरामा नेपालसहित सात देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा हेलिकोप्टरमार्फत ल्याइएको छ भने अन्य झण्डै डेढ सयलाई हेलिकोप्टरमार्फत नजिकैको सुरक्षित ठाउँमा अवतरण गराइएको जनाइएको छ ।

कोरियाली २७, चिनियाँ १६, नेपालका १०, डेनमार्कका २, सिङ्गापुरका ५, अस्ट्रेलियाका १, भारतका २ र ट्युनेसियाका १ जनालाई विभिन्न हेलिकोप्टरमार्फत पोखरा ल्याइएको टानले जनाएको छ ।