Aafno Khabar

आज माघे सक्रान्ति पर्व, देशैभरी आ-आफ्नो सांस्कृतिक परम्परा अनुसार मनाइदै

  • २०७६ माघ १ गते ०३:०७ प्रकाशित

काठमाडौं । आज माघे संक्रान्ति पर्व देशैभर विभिन्न समुदायका मानिसहरुले आ आफ्नो सांस्कृतिक महत्वका साथ मनाउँदै छन् ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

माघेसंक्रान्ति पर्व नेपालका विभिन्न ठाउँमा रहेका मानिसहरुले आ आफ्नो सांस्कृतिक महत्वका साथ मनाउने गरिन्छ । नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने नुवाकोटको तारुकामा जुधाएर रमाइलो गर्ने अनौठो चलन छ ।

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।