Aafno Khabar

सबै मिलेर आगामी महाधिवेशनमा देउवालाई हराउनुपर्छ : महामन्त्री काेइराला

  • २०७६ पुष २८ गते १३:०६ प्रकाशित

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताउनुभएकाे छ । महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताउनुभएकाे हाे ।

मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ, उहाँले भन्नुभयाे- तर अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ।

‘देउवासँग सपना नै छैन’
झापाको विर्तामोडमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफूलगायत देउवाको विरोधमा रहेका रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत एक ठाउँमा उभिए मात्र देउवालाई हराउन सकिने बताउनुभएकाे छ ।

सिटौला पनि हामीसँग रहनुहुन्छ भन्ने विश्वास छ। तर उहाँ अनुभवी राजनीतिक व्यक्ति हुनुहुन्छ। हामी एक ठाउँमा आएनौँ भने उहाँलाई हराउन सकिँदैन।”

पार्टी सभापति भइसकेपछि गुट त्यागेर सबैको सभापति हुनुपर्नेमा देउवाले एउटा गुटलाई मात्र समातेको महामन्त्री कोइरालाको भनाइ छ। जुन गुटलाई समातेर सभापति हुनु भयो अहिले पनि त्यही गुट मात्र समाइरहनु भएको छ। सभापति भइसकेपछि त माथि उठ्नुपर्यो नि।”

देउवासँग पार्टीलाई अगाडि लैजाने सपना पनि नभएको उहाँकाे आरोप छ । “देउवासँग न पार्टी उँभो लगाउने सपना छ न राष्ट्रका लागि।” महामन्त्री काेइरालाले भन्नुभयाे । “चार वर्षसम्म म उहाँविरुद्ध बोलिनँ। तर केही समयदेखि बोल्न थालेको हुँ।”