Aafno Khabar

एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आउँदैन सरोकारवाला

  • January 10, 2020 प्रकाशित

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागु गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार राजधानीमा भएको छलफलमा संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले एमसीसी परियोजनाबाट लाभ लिन कुनै शंका गर्नु नपर्ने बताउनुभएको हो ।

एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आएर कब्जा गर्ने परिस्थिती सिर्जना हुन्छ भन्ने कमजोर मानसिकता सामाजिक सञ्जालमा देखिएको उहाँको भनाई छ । ‘हाम्रो राष्ट्र त्यती कमजोर भएको जस्तो लाग्दैन । एउटा सम्झौताले ह्वारह्वारती सेनाहरु आएर कब्जा गर्ने परिस्थिती हुन्छ भन्या जस्ता कुराहरु सामाजिक सञ्जालमा देखिन्छ । अनि त्यस्तो छलफलले राष्ट्र कमजोर हुने की बलियो ?’, उहाँले भन्नुभयो, ‘विभाजित मानसिकता लिएर होइन् । हाम्रो राष्ट्रको हात माथि पर्नुपर्छ र परेको छ भन्ने भावनाको विकास हुनुपर्छ ।’

एमसीसीको विषय संसदमा गएको अवस्थामा बाहिर नेताहरुले हल्ला गर्नुको कुनै अर्थ नरहेको उहाँको भनाई छ । सच्याउनुपर्ने विषयहरु छन् भने कुटनीतिक तवरबाट छलफल गरेर सच्याउनु पर्ने उहाँले बताउनुभयो । ‘सच्याउनुपर्ने छ भने कुटनीतिक तवरबाट पहल गर्नुप¥यो । त्यसका लागि दुई वटै पक्ष सहमत हुनुप¥यो ।

हल्ला गरेर हुँदैन् होला कुटनीतिक पहल गर्नुपर्छ’, उहाँले भन्नुभयो । विवेकशील नेपाली दलका सूर्यराज आचार्यले नेपालीहरुको अकमन्यताले एमसीसीको विषयमा विवाद उत्पन्न भएको बताउनुभएको छ । नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र विकासका नीतिहरु स्पष्ट गर्न सकेमा एमसीसीमा जस्तो अवरोध पुनः नदोहोरिने बताउनुभयो ।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले बाहिर आएजस्तो नेपाल आएर बेस बनाउने हो की, नेपालमै बस्ने होकी भन्ने आशंकाहरु सहि नभएको बताउनुभयो ।

एमसीसी परियोजनामा नेपालले हस्ताक्षर गरेसँगै यो विषयमा राजनीतिक र सामाजिक बहस सुरु भएको छ । कतिपयले जस्ताको त्यस्तै पारित गर्नुपर्छ भनेका छन्, भने कतिपय सम्झौताका केही प्रावधानहरु हटाएर पारित गर्नुपर्ने बताउँदै आएका छन् ।