एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन् ।
क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न मागसमेत गरेको बिबिसीले जनाएको छ । युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा गएको बुधबार दुर्घटना हुँदा त्यसमा रहेका सबै एक सय ७६ जनाको मृत्यु भएको थियो ।
जस्टिन ट्रुडोले केही महत्वपूर्ण माध्यमबाट आफूलाई युक्रेनको विमान ईरानले जमिनबाट मार हान्ने मिसाइलले आक्रमण गरी खसालेको खबर पाएको बताएका छन् । हवाई जहाज दुर्घटनामा क्यानडाका ६३ जना नागरिक मरेका थिए ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रुडोको भनाइप्रति सहमति जनाउँदै क्यानडा र बेलायत मिलेर यसबारे थप खोजी गरिरहेको बताएका छन् । यसअघि पनि अमेरिकी सञ्चारमाध्यमले इरानले गलत तरिकाले युक्रेनी विमान खसालेको बताएका थिए ।
अमेरिकी न्युज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीहरुले युक्रेन इन्टरनेशनलको बोइङ ७३७ विमानलाई ईरानको मिसाइलले हानेको बताएका छन् । यद्यपि ईरानले भने यी सबै आरोप अस्विकार गरेको छ ।
तर युक्रेनले संयुक्त राष्ट्रसँग विमान दुर्घटनाको जाँचमा बिना शर्त समर्थन मागेको छ । ईरानले इराकमा रहेको अमेरिकी सैनिक अड्डामा मिसाइल प्रहार गरेको केही समयमा नै युक्रेनी विमान दुर्घटनाग्रस्त भएको थियो ।