Aafno Khabar

आज काठमाडौंको तापक्रम १.५ डिग्री, भोलिदेखि वर्षा र हिमपात हुने

  • January 6, 2020 प्रकाशित

काठमाडौं । आइतबारदेखि घाम लागेको काठमाडौंमा मंगलबारदेखि फेरि बादल र वर्षा हुने सम्भावना देखिएको छ।
सोमबारदेखि नेपालमा फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशैभरिको मौसम प्रणालीमा प्रभावित हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गर्ने छ।

‘पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू भागमा हल्का वर्षाको सम्भावना छ,’ मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ,‘यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानमा बदली रही उच्च हिमाली भू भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’

महाशाखाका अनुसार यो प्रणाली शुक्रबारसम्मनै रहनेछ। बिहीबार र शुक्रबार देशभर सामान्य बदली रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानमा वर्षा हुन सक्ने भएकोले सतर्क रहन महशाखाले अनुरोध गरेको छ।

शनिबारबाट भने मौसममा सुधार देखिनेछ। यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एकैदिन झन्डै ३ डिग्री सेल्सियस घटेको छ।

आइतबार ४.५ डिग्री मापन भएको काठमाडौंको न्यूनतम तापक्रम सोमबार १.६ डिग्री सेल्सियसमा झरेको छ। अधिकतम तापक्रम भने १.५ डिग्रीले बढेको छ।