फाइल तस्विर
काठमाडौं । आगामी केन्द्रीय समितिको बैठक र सभामुख पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
सभामुखको उम्मेदवार र आगामी केन्द्रीय समिति बैठक सचिवालय बैठकको मुख्य एजेण्डा भएको बालुवाटार स्रोतले बतायो ।
सभामुख टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक बस्न नसकिरहेकाले छिटो उम्मेदवार टुंगो लगाउने दबावमा नेकपा छ । कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त भएको सभामुख पदमा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाले दाबी गर्दा नेकपा अनिर्णित छ ।
यसैबीच नेकपाले यही यही पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठकलाई पछि सार्ने तयारी गरेको छ । राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गर्ने तयारी भइरहेको हो ।