काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् ।
जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।
समाचार अनुसार, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए ।
घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् । थापा मगरकाे स्थायी ठेगाना गाेरखा भएकाे उनले बताएका छन् ।
सोही घटनामा सन्दीप रघुनाथको पनि मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।