Aafno Khabar

सभामुखमा फेरि पनि सुवास नेम्वाङ, पूर्वमाओवादीले अडान छाड्यो

  • December 25, 2019 प्रकाशित

काठमाडौँ। रिक्त सभामुख पदमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले फेरि पनि अवसर पाउने भएका छन्।

सभामुख पूर्वएमालेबाट की पूर्वमाओवादीबाट भन्ने छलफल चलिरहेका बेला नेम्वाङले पाँचौ पटक देशको पाँचौ ठूलो पदको जिम्मेवारी पाउने निश्चिय प्राय भएको हो।

उनी यसअघि २०६३ सालमा पुनस्थापित संसद, रुपान्तरिक संसद, २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० मा भएको दोस्रो संविधान सभामा सभामुख भइसकेका छन्।

पार्टी एकता पहिला माओवादी खेमाबाट कृष्णबहादुर महरा सभामुख भएकाले अहिले पनि उक्त खेमबाटै सभामुख चयन हुनुपर्छ भन्ने बहस नेकपाभित्र भए पनि उक्त विषय विस्तारै ओझेल पर्दै आएको नेताहरुको दाबी छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अन्तिम निर्णय गर्ने भए पनि पार्टीभित्र नेम्वाङलाई नै सभामुख बनाउन लगभग सहमित जुटेको पूर्वमाओवादी खेमाका एक नेताले बताए।

ओली पद रिक्त भएदेखि नै नेम्वाङको पक्षमा रहेपनि अर्का अध्यक्ष दाहाललाई पूर्वमाओवादी खेमाले सभामुख एकतापूर्वको शक्ति सन्तुलन कायम हुनुपर्ने दबाब दिँदै आएका थिए। तर उक्त समूह पनि विस्तारै नेम्वाङकै पक्षमा उभिने अवस्थामा पुगेको दाहाल निकट एक नेताले बताए।

उनले भने, ‘विभिन्न कारणले सुवासजी नै सभामुख बन्नुहुन्छ। पूर्वमाओवादी खेमाबाट उहाँकै पक्षमा सहमति जुट्छ।’

पूर्वमाओवादी पक्षले अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको थियो भने उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफूले सभामुखको जिम्मेवारी पाउनु पर्ने माग राख्दै आएकी छिन्।