Aafno Khabar

यूएई जाने कामदारसँग ५ लाख रुपैयाँ माग्ने म्यानपावरमा छापा

  • २०७६ पुष ९ गते ०४:४८ प्रकाशित

काठमाडौं । विदेश जाने कामदारसँग गैरकानुनी रुपमा रकम लिने काठमाण्डौ गोंगबुको आरबी ओभरसिजमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिबाट ५ लाख रुपैयाँ लिएको उजुरीको आधारमा छापा मारिएको विभागले जनाएको छ ।

यूएईमा सेक्यूरिटी कम्पनीमा रोजगारीका लागि जान लागेका भोजपुरका पासाङ नोर्बु शेर्पासँग अभोरसिजका कर्मचारीले ५ लाख रुपैयाँ मागेका थिए । ५० हजार रुपैयाँ दिइसकेपछि अरु रकम कम गर्न आग्रह गर्दा सबै पैसा नबुझाउँदासम्म श्रम स्वीकृतिको प्रक्रिया नै अघि नबढाएपछि शेर्पाले विभागमा उजुरी दिनुभएको थियो ।

उजुरीपछि विभागको टोलीले छापा मार्दा आरबी ओभरसिजबाट रकमसँगै शेर्पाको लागिसकेको पासपोर्ट पनि बरामद भएको छ । विभागले म्यानपावरबिरुद्ध थप कारबाही अघि बढाएको जनाएको छ ।

सेक्यूरिटी कम्पनीको लागि वैदेशिक रोजगारीमा जाने नेपालीबाट म्यानपावरले ५ लाख रुपैयाँसम्म लिने गरेको भए पनि गुनासोकर्ताले रपर्दो सूचना र प्रमाणसहित सहयोग नगर्दा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको विभागले जनाएको छ ।

विभागकाअनुसार दुबई पुलिस लगायत थुप्रै सेक्यूरिटी कम्पनीबाट आउने निःशुल्क टिकट र भिसा सहितको मागमा पनि ५ लाख रुपैयाँभन्दा कम तिरेर वैदेशिक रोजगारीमा जान नपाएको गुनासो आउने गरेको छ ।

विभागले हरेक हप्ताजसो स्टिङ्ग अपरेशन गर्दै आएको छ । तर धेरैजसो व्यवसायीहरुले सुरक्षित, सम्मानपूर्ण र शोषणरहित वैदेशिक रोजगार व्यवसाय बनाउनेतर्फ पहलकदमी लिनुभन्दा पनि जसरी भएपनि पैसा कमाउने ध्याउन्नमै लागेको भेटिएको विभागले जनाएको छ।