Aafno Khabar

नयाँ कानूनको विरोधमा भारतमा देशव्यापी प्रदर्शन

  • २०७६ पुष ४ गते ०४:१५ प्रकाशित

एजेन्सी । भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ । विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ ।

भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आज लालकिल्ला क्षेत्र र पुर्वोत्तर दिल्लीका केही भागमा निषेधाज्ञा र दिल्लीको मेट्रो रेल स्टेसनमा सर्वसाधारणलाई आउन जान निषेध गरिएको थियो । प्रदर्शनकारीहरुले जन्तर मन्तरमा भेला भएर नारावाजी गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा विभिन्न विश्वविद्यालयका विद्यार्थी र विभिन्न दलका समर्थक सहभागी भएका थिए । दिल्ली लगायत देशभरि प्रदर्शनकारीहरुले राष्ट्रीय नागरिकता दर्ता (एनआरसी) र नगरिकता संशोधन कानून (सीएबी) को विरोधमा आन्दोलन चर्काउदै गएका छन् ।

दिल्लीमा भएको प्रदर्शनमा कांग्रेस नेता सन्दीप दीक्षित, स्वराज अभियानका नेता योगेन्द्र यादव र भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, डी राजा, निलोत्पाल बसु, ब्रिन्दा कराँतलगायत नेता कार्यकर्ता सहभागी भएका थिए ।

प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा पहिलो पटक टेलिफोन सेवा बन्द गरिएको छ । मोबाइल सेवा इन्टरनेट सेवा समेत बन्द गरिएको भारतीय मिडियाले बताएका छन् ।

सम्बन्धित शीर्षकहरु