Aafno Khabar

मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने

  • नयाँ पत्रिका
  • २०७५ असार १७ गते ०१:१४ प्रकाशित

मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने उसको भनाइ छ ।

मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपालनजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार अझै एक/दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खास (पकेट) क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अउनाउनुपर्ने देखिएको छ । मनसुनी रेखा नेपालको नजिक (पूर्वी आकाश हुँदै पश्चिमतर्फ फैलिएको अवस्थामा) रहेको र यो तल भरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।

यस वर्षको मनसुन १४ असारदेखि देशैभरि फैलिएको महाशाखाले जनाएको थियो । गत २५ जेठ (८ जुन) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको महाशाखाले घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुनसकेको थिएन । मनसुनी वर्षाको गतिविधि बढेकाले दुई दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।