Aafno Khabar

आठ महिनामा साढे ७ लाखभन्दा बढी पर्यटक भित्रिए

  • September 2, 2025 प्रकाशित

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा निरन्तर वृद्धि देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अगस्त महिनामा मात्र ८८ हजार ६८० पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी हो।

बोर्डको विवरण अनुसार नेपालमा भित्रिएका पर्यटकमध्ये भारत पहिलो स्थानमा रहेको छ। भारतबाट ३५ हजार ५०५ पर्यटक नेपाल आएका छन्, जसको हिस्सा कुल आगमनको करिब ४० प्रतिशत हो। त्यस्तै, चीनबाट ७ हजार ५३३ (८.५ प्रतिशत), अमेरिकाबाट ६ हजार ६८ (६.८ प्रतिशत), श्रीलंकाबाट ५ हजार ९५६ (६.७ प्रतिशत) र बंगलादेशबाट ४ हजार २६२ (४.८ प्रतिशत) पर्यटक आएका छन्।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्मको आठ महिनामा ७ लाख ३६ हजार ५६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यसलाई नेपालका पर्यटन व्यवसायीहरूले कोरोना महामारीपछिको ठूलो उपलब्धि मानिरहेका छन्।

क्षेत्रगत हिसाबले हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट आएको संख्या सबैभन्दा धेरै छ। कुल ४७ हजार १३७ पर्यटक नेपाल आएका छन्, जसको प्रतिशत ५३ पुग्छ। त्यसपछि एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ (१७.८ प्रतिशत), युरोपबाट ११ हजार १३२ (१२.६ प्रतिशत) र ओसनियाबाट २ हजार ४३५ (२.७ प्रतिशत) पर्यटक आएका छन्।

यसैगरी, अमेरिकाबाट ७ हजार २९३ (८.२ प्रतिशत), मध्यपूर्वबाट ९४४ (१.१ प्रतिशत), अफ्रिकाबाट ३२२ (०.४ प्रतिशत) र अन्य मुलुकबाट ३ हजार ६४० (४.१ प्रतिशत) पर्यटक नेपाल आएका छन्। गत जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएको तथ्यांक बोर्डले स्मरण गराएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाली पर्यटन विस्तारतर्फ अग्रसर बन्दै गएको बताएका छन्। उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेसको नयाँ उडान थपिएको कारण भारतबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। आगामी महिनामा पनि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा हामी आशावादी छौं।”