Aafno Khabar

आर्थिक बृद्धिदर १ दशमलब ७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

  • आफ्नो खबर
  • January 11, 2023 प्रकाशित

काठमाडौं । विश्व बैंकले यो वर्ष विश्वको आर्थिक बृद्धिदर १ दशमलब ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

बैंकले आज ग्लोबल आउटलूक २०२३ सार्वजनिक गर्दै सन् २०२३ मा विश्व अर्थतन्त्र ६ महिना अघि गरेको भन्दा १ दशमलब ३ प्रतिशत विन्दुले खुम्चिएर १ दशमलब ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

६ महिनाअघि बैंकले विश्व अर्थतन्त्र ३ प्रतिशतले बढ्ने बताएको थियो । आगामी बर्ष २०२४ मा भने बृद्धिदर केही सुधारिएर २ दशमलब ७ प्रतिशत पुग्ने बैंकको अनुमान छ । रुस–युक्रेन युद्धको प्रभाव, विश्वमा बढ्दो मूल्यबृद्धि, उच्च ब्याजदर, लगानीमा संकुचनलगायतका कारणले विश्व अर्थतन्त्रमा संकट आएको बताइएको छ ।

धनाढ्य एवं प्रभावशालीसहित विश्वभरका मुलुक मन्दीबाट गुज्रिंदा विकासशील राष्ट्र बढी मारमा पर्ने उसले जनाएको छ । विश्व बैंकले दक्षिण एशियाली मुलुकको बृद्धिदर यो बर्ष ५ दशलमब ५ प्रतिशत र अर्को बर्ष ६ दशमबल १ प्रतिशत पुग्ने जनाएको छ ।

यस्तै, नेपालको यो बर्ष आर्थिक बृद्धिदर ५ दशमलब १ प्रतिशत र आगामी बर्ष ४ दशमलब ९ प्रतिशत रहने बैंकको अनुमान छ । दक्षिण एशियाली मुलुकमध्ये २०२२ मा १२ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने देखिएको माल्दिभ्सको २०२३ मा ८ दशमलब ४ प्रतिशत रहने बताइएको छ ।

यस्तै, भारतले आर्थिक बर्ष २१–२२ मा ८ दशलमब ७ प्रतिशत आर्थिक बृद्धि गरेको अनुमान गरिएकोमा २२–२३ मा भने ६ दशमलब ९ प्रतिशत बराबरमा खुम्चने बैंकको दृष्टिकोण सार्वजनिक भएको छ ।