काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरी आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मन्त्रालय फुटाउने बारे गठबन्धनमा छलफल नभएको बताउनुभयो ।
सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उहाँले जानकारी दिनुभयो ।
बैठकमा संघीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो ।