Aafno Khabar

चैत १५ गते मेलम्चीको पानी धारामा पठाइने,पहिलो चरणमा यी ठाउँमा पठाइनेछ पानी

  • आफ्नो खबर
  • March 22, 2021 प्रकाशित

काठमाडौं । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ ।

कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरूङमा पानी थुनेर अनुगमन भइरहेको र केही दिनमा पानी पठाउने तयारी भएको समितिले जनाएको छ ।

चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको विकास समितिले यस अघिनै बताइसकेको थियो ।

काठमाडौँ उपत्यकामा पानी वितरणका लागि केही दिनमै सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा दैनिक आठ करोड लिटर खसालिनेछ । पानी छिटो पठाउनकै लागि निर्माण कम्पनी प्राविधिक टोलीले त्यसै अनुसार काम गरिरहेका छन् । चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिने भएको छ ।

उक्त अवधिमा परीक्षण सफल भएपछि स्थायी रुपमा पानी पठाइनेछ । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिएसँगै वितरण हुनेछ ।

पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दश हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ । दोस्रो चरणअन्तर्गत भक्तपुरसहित काठमाडौँ र ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।