काठमाडौं । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म २३ करोड २४ लाखभन्दा धेरै व्यक्तिमा परीक्षण गरिएको छ ।
कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा भएको छ । केही दिनअघि आवश्यक निर्णय गर्न निर्देशन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । भारतमा कोरोना भाइरसको जोखिम बढेपछि नेपाल सरकारले पनि भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ ।
त्यहाँ हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।