Aafno Khabar

पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो मात्रा वैशाख ७ देखि लगाउन पाउने

  • आफ्नो खबर
  • March 18, 2021 प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गर्ने भएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो ।

पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचना पछि प्रकाशन गरिने जानकारी दिए।

दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ ।

भारत सरकारले उपहारस्वरुप प्रदान गरेको पहिलो खेपको बाँकी मौज्दातसहित सम्पूर्ण खोपको मात्राको मौज्दात विवरण दुई दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइने उनले बताए ।