काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
विभागले आइतबार पत्रकार सम्मेलन गरेर दशैं, तिहार तथा छठको बिदामा समेत चाडपर्व लक्षित विशेष टोली बनाएर अनुगमन गर्ने भएको हो ।
बिदाका दिनमा समेत अनुगमन गर्ने गरी विभागले काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा गुनासो तथा उजुरी सम्बोधन र बजार अनुगमन गर्न छुट्टै टोली परिचालन गर्ने भएकोे छ ।
विभागका महानिर्देशक उपेन्द्र रायले भदौ अन्तिम सातादेखि दैनिक ३ वटा अनुगमन टोलीले नियमित बजार अनुगमन गरिरहेको र चाडपर्वका समयमा बढी मिसावट र कैफियत हुनसक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउन थप टोली परिचालन गरिएको जानकारी गराउनुभयो ।
विभागले मतहतका कार्यलयले खाद्य उद्योग, दाना उद्योग, होटल–रेष्टुरेन्ट, खाद्य पसल, पिउनेपानी, दुध लगायतमा गरेको अनुगमनमा केहीमा कैफियत भेटिएकाले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको समेत जनाएको छ ।