Aafno Khabar

कोरोना संक्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु

  • आफ्नो खबर
  • August 30, 2020 प्रकाशित

काठमाडौं । नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै उच्च काेराेना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार आइतबार तीन सय ४८ महिला र आठ सय ७३ पुरुष गरी जम्मा एक हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ। यस्तै, काेराेनाबाट निको हुनेको संख्या हालसम्म २० हजार ८ सय २२ पुगेको छ ।