काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको हालैको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाउँदै चेतावनी दिएको छ। आयोगले उक्त अभिव्यक्तिले देशमा मूठभेड निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो।
राजावादी संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले आइतबार “जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने अभिव्यक्ति दिएका थिए। आयोगका अनुसार यो भनाइ विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतासँग पूर्णतः विपरीत छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले देशको शान्ति, सुरक्षा र अमनचयन कायम गर्नु सरकारका सुरक्षा निकायको प्रमुख जिम्मेवारी भएको भन्दै कुनै पनि पार्टीले कुनै स्थान कब्जा गर्ने प्रयास गर्नु गम्भीर विषय भएको बताएका छन्।
आयोगले संविधान र कानुनले शान्तिपूर्ण विचार अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्रीको अभिव्यक्ति अरुको विचार तथा प्रदर्शनमाथि नकारात्मक असर पार्ने खालको भएको बताएको छ।
आयोगले प्रधानमन्त्रीसहित सबै पक्षलाई संयमित भाषा प्रयोग गर्न, नकारात्मक टिप्पणी नगर्न र शान्तिपूर्ण प्रदर्शनको सुनिश्चितता गर्न आग्रह गरेको छ।