Aafno Khabar

गगन थापाको सरकारप्रति असन्तुष्टि, देउवा चुप

  • आफ्नो खबर
  • April 15, 2025 प्रकाशित

काठमाडौं — सरकार गठन भएको नौ महिना पुग्दै गर्दा सरकारको कार्यसम्पादनप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रै असन्तुष्टि चुलिँदै गएको छ। कांग्रेसका महामन्त्री गगनकुमार थापा निरन्तर सरकारको आलोचना गरिरहँदा पार्टी सभापति शेरबहादुर देउवा भने मौन छन्।

सांसद थापा सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य हुन्, तर उनले सरकार नागरिकको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै आलोचना गर्दै आएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारको कामलाई “विचौलियाको प्रभाव”ले ग्रस्त भएको बताए।

“प्रधानमन्त्रीको शयन कक्षसम्म विचौलियाको पहुँच छ,” उनले भने, “यही कारणले देशको अर्थतन्त्र बिग्रिएको हो।” थापाले सरकारले राजनीतिक संयन्त्रका सिफारिसअनुसार पनि काम नगरेको आरोप लगाए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइ, प्रधानमन्त्रीको उद्घाटन मोहदेखि राजधानीका शिक्षकहरूको आन्दोलनसम्बन्धी सरकारी उदासीनता—यी सबैप्रति थापाको असन्तुष्टि देखिएको छ। उनले भनेका छन्, “बिँड तातेर मात्रै केही हुँदैन, ताप्के पनि तात्नुपर्छ।”

थापाले आफूलाई प्रधानमन्त्री बनाइए पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने दाबी गर्दै युवा पुस्ताबाट नेतृत्व परिवर्तनको आवश्यकतामा जोड दिएका छन्। भ्रष्टाचारका सबै काण्डको छानबिन गर्न उनले विशेष आयोग गठन गर्नुपर्ने बताएका छन्।

“२०८४ भित्र नेपाललाई भ्रष्टाचारमुक्त समाज बनाउनु आवश्यक छ,” थापाले भने, “शक्तिशालीलाई पनि दोषी ठहर भए सजाय दिनु पर्छ।”

यद्यपि, कांग्रेस सभापति देउवा भने सरकारको कामप्रति सन्तुष्ट देखिन्छन्। प्रधानमन्त्री ओलीसँगको पुरानो सम्बन्धका कारण देउवा मौन समर्थनमा देखिए पनि, थापाको आलोचना भाषणमै सीमित बन्न पुगेको छ।

थापाले चेतावनी दिएका छन्—“यदि नेताको शैली नबदलिए, जनता स्वयंले नेतालाई बदल्न बाध्य हुनेछन्।” तर अहिलेका नेताहरूमा आफू परिवर्तन गर्ने संकेत देखिएको छैन।