राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको मार्गमा बाधक बनेका बेथितिहरूको अन्त्य, सुशासनको प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन्।
विक्रम संवत् २०८२ को शुभारम्भको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको आकांक्षा पूरा गर्ने साझा संकल्प गर्न सबैलाई आह्वान गरेका हुन्।
उनले भने, “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र साझा संकल्पसहित अघि बढ्न म सम्बद्ध सबैलाई अपिल गर्दछु।”
शुभकामना सन्देशमा विक्रम संवत्लाई वैदिक कालखण्डमा आधारित शौर्य संवत् र हिन्दू परम्परामा आधारित ऐतिहासिक संवत् भएको उल्लेख गर्दै उनले यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्ने बताएका छन्।
“नयाँ वर्ष विगतको समीक्षा र आगामी दिनका लागि संकल्प गर्ने शुभ दिन हो,” राष्ट्रपति पौडेलले भने, “हामी नेपालीहरू विशेष पर्व तथा दिनमा लक्ष्य निर्धारण गरी त्यसलाई पूरा गर्न जीवनभर प्रतिबद्ध रहने परम्परा बोकेका छौँ।”
राजनीतिक परिवर्तनपछि जनताले राखेका अपेक्षा पूरा गर्न केही ढिलाइ भएको भए पनि त्यसलाई लिएर सिर्जना गरिएका भ्रमपूर्ण अवस्थाहरू विस्तारै अन्त्य हुँदै जाने विश्वाससमेत राष्ट्रपतिले व्यक्त गरे।
विश्व प्रविधिमैत्री चरणमा पुगेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ सुदृढ गर्दै लैजानुपर्नेमा उनले जोड दिए।
कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै राष्ट्रपतिले यिनमा सुधार, नीति निर्माण र अवसर सिर्जना गरेर आर्थिक वृद्धि तथा समृद्ध राष्ट्र निर्माणको संकल्प गर्न आग्रह गरे।
उनले निष्कर्षमा भने, “आजको दिनले हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु।”