काठमाडौँ — हङकङमा जारी चारदेशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ। कुवेतले दिएको १८६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.५ ओभरमा ४ विकेट गुमाएर सहजै पुरा गर्यो।
नेपालका ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई मजबुत सुरुआत दिलाए। भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्कासहित ८१ रन बनाए भने शेखले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए। यी दुइबीच पहिलो विकेटका लागि १२७ रनको साझेदारी भएको थियो। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ३१ रनको उपयोगी योगदान दिए।
यसअघि, मंगलक मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। कुवेतका क्लिन्टो अन्टोले ४१ रन, मित भावसरले ३५, बिलाल ताहिरले ३२, रभिजा सन्दरुवाले २६ र कप्तान मोहम्मद अस्लामले १७ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ र ललित राजवंशी तथा कुशल भुर्तेलले समान १–१ विकेट हात पारे। प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो। कुवेतले पनि आफ्नो पहिलो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो।
हङकङ, नेपाल, कुवेत र कतार सहभागी चार देशीय सिरिजमा नेपालले अब लिग चरणको अन्तिम खेल शनिबार हङकङसँग खेल्नेछ। शीर्ष दुई स्थानमा रहने टोलीबीच १३ अप्रिलमा फाइनल खेल हुनेछ।