अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा लगाइने आयात शुल्क (ट्यारिफ) बढाएर १२५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्, जुन निर्णय तुरुन्तै लागू हुने जनाइएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी सार्वजनिक गर्दै चीनले अन्तर्राष्ट्रिय बजारप्रति सम्मान नदेखाएको आरोप लगाए।
उनले लेखेका छन्, “चीनले विश्व बजारप्रति देखाएको अपमानका कारण म चीनमाथि लगाइने अमेरिकी ट्यारिफलाई १२५ प्रतिशतमा पुर्याउने निर्णय लिएको छु। यो निर्णय तत्काल लागू हुनेछ। मलाई विश्वास छ, चीन चाँडै बुझ्नेछ कि अमेरिकालगायत अन्य देशहरूलाई लगातार आर्थिक क्षति पुर्याउने दिन अब समाप्त भइसकेका छन् र यस्तो व्यवहार स्वीकार्य पनि छैन।”
चीन बाहेक अन्य देशहरूको हकमा भने ट्रम्पले ९० दिनको ‘रोक’ अवधि घोषणा गरेका छन्। यस अवधिमा ती देशहरूमा १० प्रतिशत मात्र ‘रेसिप्रोकल ट्यारिफ’ (पारस्परिक शुल्क) लगाइनेछ। ह्वाइट हाउसका अनुसार यो नियम तत्काल लागू हुनेछ।
अमेरिकी वित्त मन्त्रालयले जानकारी गराए अनुसार क्यानडा र मेक्सिकोलाई पनि यस नयाँ नियम अन्तर्गत १० प्रतिशतको आधारभूत ट्यारिफको दायरामा ल्याइएको छ, जहाँ पहिला ती देशहरूका केही वस्तुहरूमा २५ प्रतिशतसम्मको शुल्क लाग्थ्यो। यद्यपि, युरोपेली युनियन (EU) पनि यो रियायतमा पर्दछ वा पर्दैन भन्ने कुरा भने स्पष्ट गरिएको छैन।
यसअघि चीनले पनि अमेरिकाविरुद्ध ट्यारिफ बढाउने घोषणा गरिसकेको थियो। अमेरिका द्वारा चीनमा लगाइएको १०४ प्रतिशत ट्यारिफको जवाफमा चीनले अमेरिकाबाट आयात हुने वस्तुहरूमा अतिरिक्त ५० प्रतिशत शुल्क थप गर्दै कुल ८४ प्रतिशत ट्यारिफ लागू गर्यो। चीनले अमेरिकाको निर्णयविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने आह्वान गर्दै विश्वभरका मुलुकहरूलाई एकताबद्ध हुन आग्रह पनि गरेको छ। राष्ट्रपति सी चिनफिङले चीनले अमेरिका सामना गर्न आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध थप मजबुत गर्नुपर्ने बताएका छन्।