Aafno Khabar

जनप्रतिनिधिका छोराछोरी निजी होइन, अब सामुदायिक विद्यालयमा

  • आफ्नो खबर
  • April 9, 2025 प्रकाशित

ओखलढुंगा — ओखलढुंगाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाबाट पारित निर्णयअनुसार अब गाउँपालिका क्षेत्रभित्र कार्यरत सरकारी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरूले आफ्ना सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्नेछ।

पालिकाले यो निर्णय कार्यान्वयनमा ल्याउन आधिकारिक सूचना जारी गरेको छ। प्रशासकीय अधिकृत सन्तोष गौतमका अनुसार शैक्षिक सत्र २०८२ देखि लागू हुने यो नीति विद्यार्थी भर्ना अभियान सुरु हुनु अघिनै ल्याइएको हो, जसले सबै पक्षको सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।

गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको गुनासो बढिरहेका बेला पालिकाले यस्तो कदम चालेको हो। पालिकाले अभिभावकहरूको विश्वास जित्न र सरकारी तहबाटै सामुदायिक विद्यालयप्रति अपनत्व बढाउन यो नीतिगत निर्णय लिएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष उत्तम राईका अनुसार पालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमै पढेपछि शिक्षाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यो निर्णय लागू गर्ने मोलुङ गाउँपालिका ओखलढुंगामा पहिलो भएको पनि जनाइएको छ।