Aafno Khabar

राप्रपाको जिम्मेवार व्यवहारप्रति मेयर शाहको आभार

  • आफ्नो खबर
  • April 8, 2025 प्रकाशित

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बल्खुमा आयोजना गरिएको कार्यक्रममा सरसफाइ कार्य सम्पन्न गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आभार व्यक्त गरेका छन्। मंगलबार बल्खुमा खबरदारी सभा आयोजना गरेको राप्रपाले कार्यक्रम सकिएपछि स्थलमा भएको फोहोर आफैंले संकलन गरी सफा गरेको थियो।

मेयर शाहले सामाजिक सञ्जालमार्फत राप्रपाले देखाएको जिम्मेवार व्यवहारप्रति धन्यवाद दिँदै भनेका छन्, “महानगरको उद्देश्य कसैलाई जरिवाना तिराउनु होइन, सार्वजनिक स्थलमा कुनै पनि व्यक्ति वा संस्थाले फोहोर नगरोस् भन्ने हो। राप्रपाले आफैं सरसफाइ गरेर सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।”

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत कार्यक्रमपछिको फोहोर व्यवस्थापन पार्टीकै स्वयमसेवकहरूद्वारा गरिने जानकारी गराएका थिए। कार्यक्रममा सहभागी राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल र अन्य कार्यकर्ताहरूले सभा सकिएपछि सफाइ कार्यमा सक्रिय भूमिका खेलेका थिए।

यसअघि राप्रपाले काठमाडौं महानगरपालिका अन्तर्गतको संरचनामा क्षति पुगेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिरेको थियो। तर, यसपटक जिम्मेवारीपूर्वक कार्यक्रम सम्पन्न गरेपछि महानगरका तर्फबाट सकारात्मक सन्देश आएको छ।