Aafno Khabar

बलूचिस्तानमा जाफर एक्सप्रेस अपहरण – २० सैनिक मारिए,१८२ यात्रु बन्धक

  • आफ्नो खबर
  • March 12, 2025 प्रकाशित

इस्लामाबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंककारी समूहले यात्रुवाहक ट्रेन अपहरण गरी १८२ यात्रुलाई बन्धक बनाएको छ। क्वेटाबाट खैबर पख्तुनख्वा जाँदै गरेको जाफर एक्सप्रेसलाई नियन्त्रणमा लिने क्रममा भएको गोलीहानामा २० सैनिकको मृत्यु भएको छ भने ट्रेन चालक गम्भीर घाइते भएका छन्।

मंगलबार बलूचिस्तानको दक्षिण-पश्चिमी क्षेत्रमा आतंककारीहरूले ट्रेनमा आक्रमण गरेका थिए। पाकिस्तानी अधिकारीहरूका अनुसार हतियारधारी समूहले ट्रेन रोकेर गोलीबारी गरेपछि भिडन्त भएको थियो। घटनास्थलमा गम्भीर घाइते भएका ट्रेन चालकलाई अस्पताल पठाइएको छ।

उग्रवादी समूह बलूच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिँदै सुरक्षा बलहरू फिर्ता नभए यात्रुहरूलाई हत्या गर्ने चेतावनी दिएको छ। घटनास्थलमा थप सुरक्षा बल पठाइएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।

रेलवे प्रशासनका अनुसार ट्रेनमा करिब ४५० यात्रु सवार थिए। आतंककारीहरूले सुरुङ नम्बर ८ मा ट्रेन रोक्दै नियन्त्रणमा लिएका थिए। बलूचिस्तान सरकार र सुरक्षा निकायले घटनाको छानबिन अघि बढाउँदै आपत्कालीन सुरक्षा सतर्कता अपनाएको छ।