Aafno Khabar

पर्वतमा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते

  • आफ्नो खबर
  • March 5, 2025 प्रकाशित

पर्वतको बिहादी गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।

 

दुर्घटनामा घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा पठाइएको छ भने सामान्य घाइते भएका एक बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

 

प्रहरीका अनुसार उकालो सडकमा ब्रेक फेल भएर जीप दुर्घटना भएको हो। घाइतेहरूको पहिचान खुलिनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।