Aafno Khabar

नेपाली क्रिकेट : एकदिवसीय मान्यताको ६ वर्ष

  • आफ्नो खबर
  • February 14, 2024 प्रकाशित

काठमाडौं – नेपाली क्रिकेटमा अहिले नयाँ युग चलेको छ । यो हामीले भनेको हैन् । खेलाडीले मैदानमा देखाएको प्रदर्शनका क्रममा नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काको भनाई हो ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले सन २०१८ मार्च १५ मा एकदिवसीय मान्यता प्राप्त गरेको थियो । डिभिजन ५ बाट यात्रा थालेको नेपालले प्रवेशको २२ वर्षपछि एकदिवसीय मान्यता प्राप्त ग¥यो ।

यसअघि सन् २०१४ मा विश्वकप छनोट खेल्दै नेपालले एकदिवसीय मान्यताको लागि प्रयास गरेको थियो । सो समयमा डिभिजन २ खेलिरहेको नेपाल घटुवा हुँदै डिभिजन ३ मा पुगेको थियो । नेपाली क्रिकेटका लागि सो समय सुखद थिएन् । क्रिकेटको माउ संस्था नेपाल क्रिकेट संघलाई आईसिसीले निलम्बन गरेको थियो ।

आईसीसीले क्रिकेट संघमा सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेपछि क्यान तीन वर्षसम्म नेतृत्वबिहीन भएको थियो । आईसिसीले गरेको निलम्बन तीन वर्षपछि मात्र फुकुवा भयो । बि.स.२०७३ वैशाखमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वले आर्थिक पारदर्शीता कायम गर्न नसकेको भन्दै आईसीसीले क्रिकेट संघमा प्रश्न उठाएपछि सरकारले छुट्टै तदर्थ समिति बनाएको थियो । लगत्तै सरकारी हस्तक्षेप भएको भन्दै आईसिसीले नेपालको क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

त्यसपछि तीन वर्ष नेपाली क्रिकेट टिम आईसिसीको समन्वयमा क्रिकेट खेलेको थियो । सोही समयमा नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता प्राप्त गरेको हो । नेपालले एकदिवसीय मान्यता पाएको एक वर्षपछि नेपाल क्रिकेट संघमा आईसिसीको उपस्थितीमा नै चुनाव भयो र अध्यक्षमा पुनः चतुरबहादुर चन्द नै अध्यक्षमा निर्वाचित भए । चन्द नेतृत्वको समितिलाई आधिकारीकता प्रदान गर्दै आईसिसीले नेपालमाथि लगाएको प्रतिबन्ध २०७६ असोज २७ गते फुकुवा गरेको थियो ।

नेपाल क्रिकेट संघ निलम्बनमा पुगेको समयमा क्रिकेट टिमको कप्तानसँगै महत्वपूर्ण उपलब्धि दिएका पारस खड्काले कप्तानबाट राजीनामा गरे । क्यानको प्रतिबन्ध फुकुवा भएको भोलिपल्टै अर्थात २०७६ असोज २८ गते पारसले क्रिकेट टिमको कप्तानबाट राजीनामा गरेपछि तरंग नै पैदा भयो ।

डिभिजन वान देखि एकदिवसीय मान्यता सम्मको उपलब्धि र टी–२० विश्वकपसम्म कप्तान रहेका खड्काको राजीनामाले क्यानसँग पारसको टसललाई लिएर पनि हेरियो । क्रिकेट संघको कार्यशैली प्रति आक्रामक बन्दै आएका खड्काले क्यानमा पूरानै नेतृत्व आउँदा राजीनामा दिएको हुनसक्ने अनुमानका बीच उनले लामो यी सबै कुरालाई नकार्दै गए ।

पारस युगको अन्त्य र ज्ञानेन्द्र कारबाहीमा
झण्डै १० वर्ष नेपालको कप्तान भएका पारसको राजीनामा पछि उपकप्ता ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको कप्तान बने । लामो समय उपकप्तानको भूमिका निर्वाह गरेका ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको महत्वपूर्ण उपलब्धिका हकदार मात्र थिए । सो समयमा नेपालका उम्दा ब्याट्सम्यान समेत रहेका ज्ञानेन्द्रको कप्तानीमा पारस खड्का पनि केही खेल खेले ।

कप्तानबाट अलग भएपछि पनि पारस झण्डै दुई वर्ष नेपाली क्रिकेट टिममा रहेका पारस २०७८ साउन १९ गतेबाट भने औपचारिक रुपमा क्रिकेटबाट अलग भए । क्रिकेट व्यवस्थापनमा आउने चाहना राख्दै पारसले क्रिकेटबाट सन्यासको घोषणा गर्दा धेरैले पारस युगको अन्त्य भएको विश्लेषण गरे । उमेर समूह हुँदै झण्डै १८ वर्ष क्रिकेट खेलेका पारसलाई नेपाली क्रिकेटमा सबैभन्दा सफल खेलाडी र कप्तानमा रुपमा लिने गरिन्छ ।

पारसको सन्याससँगै नेपाली क्रिकेट टिमले ठूला अवरोह पार गरे । अझै उनका सहयात्री कप्तान ज्ञानेन्द्र मल्ल क्यानको निलम्बनमा परे । २०७६ कात्तिक १३ गते कप्तान बनेका मल्ल र उपकप्तान बनेका दिपेन्द्रसिंह ऐरीले दुई वर्ष पनि नपुग्दै क्यानले जिम्मेवारीबाट मुक्त ग¥यो ।

पहिलो पटक गरिएको खेलाडी वर्गिकरणमा असन्तुष्टी जनाएका कारण कप्तान मल्लर उपकप्तान ऐरीको पद खोसीयो । यति मात्र होइन् क्यानविरुद्ध बोलेको भन्दै उनीहरुसहित अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि क्यानले कारबाही ग¥यो । छ महिनाका लागि चार खेलाडीलाई ‘सेन्ट्रल कन्ट्र्याक्ट’ अथवा तलब सुविधा नदिने गरि गरिएको कारबाही र ज्ञानेन्द्रको जिम्मेवारी खोसिएको विषयले क्रिकेटमा नयाँ तरंग पैदा ग¥यो ।

क्यानले चार खेलाडीलाई कारबाही मात्र गरेको थिएन् । नयाँ कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गर्ने निर्णय पनि गरेको थियो ।

क्यानको निर्णयसँगै राष्ट्रिय टोलीमा अधिकांश खेलाडीले ‘आई एम डन टु’ भनेर विरोध जनाए । क्यानको निर्णणविरुद्ध ज्ञानेन्द्रसहितका खेलाडी खुलेर बाहिर आए भने अधिकांश खेलाडीले उनीहरुको विद्रोहमा साथ दिए । यसले नेपालको क्रिकेटमा दुरगामी असरको छनक देखिएपछि सरकारले पनि क्यानलाई विवाद समाधानका लागि निर्देशन ग¥यो ।

जसका कारण क्यान फेरी एकपटक आईसिसीको निलम्बनमा पर्ने भय देखिएको थियो । यति मात्र होइन यसको प्रत्यक्ष असर मैदानमा पनि तत्काल देखिने भयो । क्रिकेट संघले बन्द प्रशिक्षणमा बोलाएका खेलाडी होटलमा नगएर खेलाडीको विद्रोहलाई साथ दिए ।

अन्ततः क्यान खेलाडीसँगको वार्ता मार्फत समस्या समाधानमा तयार भयो । क्यानले खेलाडीको कारबाही फिर्ता लियो खेलाडी मैदान फर्कन तयार भए । तर कप्तान भने लामिछाने नै हुने गरी तत्काल समस्याको समाधान गरियो । सँगै टी–ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पनि शुरु भयो ।

कागजमा गरिएको समाधानले मैदानमा भने नतिजा देखाउन सकेन् । नेपालका हरेक खेलमा नतिजा अनुकुल आएन् । विश्वकप छनोटमा नेपालको प्रदर्शन विर्सन लायक रह्यो । यो मात्र होइन् डिभिजन टु का खेलमा पनि नेपालले अनुकुल नतिजा निकाल्न सकेन् । नेपाली खेलाडी स्पष्ट रुपमा दुई गुटमा विभाजित थिए । कप्तानी सम्हालेका सन्दीपले सो समयमा टिममा आफू एक्लिएको भन्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका थिए ।

टिक्न नसकेका प्रशिक्षक र मोन्टीको आगमन

खेलाडीबीचको गुट–उपगुट, खराब नतिजा र क्यानसँगको सम्बन्ध गतिलो बनाउन नसक्दा सो समयमा नेपाली टोलीका प्रशिक्षक लामो समयसम्म टिक्न सकेनन् । २०७७ देखि २०७९ सम्म नेपाली क्रिकेटमा चार प्रशिक्षकले राजीनामा दिएका थिए । नेपाली क्रिकेट टिम सम्हाल्न आएका डेभ ह्वाटमोर, उमेश पटवाल, पुबुदु दासानायक तथा मनोज प्रभाकर आफ्नो कार्यकाल पूरा नगरी फर्किएका प्रशक्षिकहरु हुन् । सो समयमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवालले नेपाली क्रिेकटभित्र ‘सिस्टम’ नहुनु र क्रिकेटभित्रको राजनीतिका कारण प्रशिक्षक स्थायी रूपमा टिक्न नसकेको विश्लेषण गरेका थिए ।

जुन समयमा नेपालले विश्वकप २०२३ को छनोटका लागि लिग डिभिजन २ खेलिरहेको थियो । एकदिवसीय मान्यता जोगाइराख्न डिभिजन–२ का खेल नेपालका लागि महत्वपूर्ण रहेका थिए ।
एक समयमा नेपाल २४ खेलबाट १८ अंक जोडेर अंक तालिकाको छैटौँ स्थानमा थियो । शिर्ष पाँचमा रहँदा मात्र एकदिवसीय मान्यता जोगिने परिस्थिती रहेको थियो । लिगमा नेपालले १२ खेल खेल्न बाँकी छँदा नेपाल प्रशिक्षक बिहीन थियो । सो समयमा नेपाल एकदिवसीय मान्यता जोगाउन सक्ने प्रशिक्षकको खोजीमा रहेको थियो ।

यहीँ चुनौतीको सामना गर्न गत वर्ष माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मोन्टी देसाई नियुक्त भएका थिए । मोन्टीको आगमनसँगै नेपाली क्रिकेट टिमको लयमा पूरै परिवर्तन आएको छ । उनको प्रशिक्षणमा नेपालले एकदिवसीय मान्यता मात्र जोगाएन सिँधै विश्वकप छनोट पनि खेल्यो । नेपालले पहिलो पटक एसिया कप खेल्दा १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ । सन् २०२३ मा सानदार प्रदर्शन गरेको नेपालले २०२४ लाई पनि दमदार स्वागत गरेको छ । लिग डिभिजन–२ मा बलिया प्रतिद्धन्द्धी नेदरल्यान्ड र नामिबियासँगको सिरिज अगाडी नेपालले क्यानडासँगको सिरिजमा क्लिन स्विप गरेको छ ।

क्रिकेटको नयाँ युग

नेपाली क्रिकेट अहिले नयाँ युगमा प्रवेश गरेको छ । ६ महिना अगाडी मात्र नेपाली क्रिकेटबाट ज्ञानेन्द्र मल्लको सन्यासपछि पारस–ज्ञानु युगको औपचारिक अन्त्य भयो । हाल नेपाली क्रिकेट टिममा सन् २०१४ को विश्वकप खेलाडी एक मात्र खेलाडी सोमपाल कामी मात्र रहेका छन् । लामो समयदेखि खेल्दै आएका खेलाडी करण केसी र दीपेन्द्रसिंह ऐरी मात्र हुन् ।

नेपाली टिमका कप्तान रोहीत पौडेल मात्र २१ वर्षका भए । २१ वर्षे ठिटोले कप्तानी गरेको टिमका अधिकांश खेलाडी २५ वर्षभन्दा मुनीका छन् । नेपालको युवा टोली अहिले उच्च लयमा छ । खेलाडीमा पूर्ण आत्मविश्वास देखिन्छ भने नतिजा आफ्नो पक्षमा पार्न मैदानमा प्रदर्शन पनि गज्जबको गरिरहेका छन् । नेपाली क्रिकेट टिमका खेलाडीहरुमा अन्तिम समयमा गएर पनि जिताउन सक्ने विश्वास रहेको क्यान सचिव खड्का छन् ।

अहिलको अवस्थामा क्रिकेटमा नेपालले प्राप्त गर्न बाँकी उपलब्धि ‘टेष्ट राष्ट्र’ मात्र हो । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ भन्छन, ‘खेलाडीको यो आत्मविश्वास र प्रदर्शनलाई कायम राख्न सक्ने हो भने हामीले छिट्टै ‘टेष्ट नेसन’ हासिल गर्न सक्छौं ।’ तर घरेलु क्रिकेटको संरचनामा भने ब्यापक परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

नेपाली क्रिकेछ टिमका पूर्व स्टार खेलाडी शक्ति गौचन पनि अहिले नेपाली क्रिकेटमा ‘गोल्डेन इरा’को सुरुवात भएको मान्छन । उनी भन्छन, ‘कुनै समय ‘अन्डरडग’को अवस्थामा पुगेका हामीले जसरी ‘कमब्याक’ ग¥यौं, त्यो आफैंमा महत्त्वपूर्ण छ । अहिलेका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सबै खेलाडीले ‘म्याच विनर’को भूमिका निर्वाह गरिरहेका छन् ।’

उनी थप्छन, ‘नेपाली क्रिकेट टोलीको ‘रियुनिट प्रोसेस’ पनि बढ्ने क्रममा छ । हामीले छाडेकोभन्दा अहिले राम्रो भएको छ । अधिकांश खेलाडी २५ वर्षमुनिका छन् । यस्तै ‘एक्सपोजर’ पाउने हो भने हाम्रा खेलाडीले अहिलेजस्तै उत्कृष्ट नतिजा ल्याउन सक्छन् ।’ नेपाली क्रिकेटमा देखिएको एकताले नतिजामा पनि प्रभाव देखिएको उनको भनाई छ ।