नुवाकोट । तारकेश्वर गाउँपालिकाले पालिकाभित्र रहेका ११ सामुदायिक विद्यालयलाई फर्निचर सामाग्री दिएको छ । फर्निचर अभावमा विद्यालयको अध्ययन, अध्यापनमा समस्या देखिएको भन्दै गाउँपालिकाले फर्निचर सामाग्री दिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।
विद्यालय अनुगमनको क्रममा विद्यार्थीलाई फर्निचर अभावमा अध्ययनका लागि समस्या भएको देखेपछि आफूले पालिकाबाट सबै विद्यालयमा फर्निचर सामाग्री दिने निर्णय गरेको र सोही अनुसार सामाग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका भित्रको शैक्षिक सुधारका लागि आफूले जस्तो सुकै सहयोग गर्न तयार रहेको अध्यक्ष अधिकारीको भनाई थियो । पालिकाभित्रका विद्यालयमा शिक्षक सरुवाको अनावश्यक हल्ला फैलाइएको भन्दै उहाँले हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयो ।
गाउँपालिकाले तारकेश्वरमा रहेका भुमेदवी आधारभूत विद्यालय, चक्रदेवी आधारभूत विद्यालय, बागबच्छला महादेव आधारभूत विद्यालय, गौरेश्वर आधारभूत विद्यालय, तारकेश्वर आधारभूत विद्यालय, बाघभैरव आधारभूत विद्यालय, सहिद प्रशंशा स्मृती आधारभूत विद्यालय, चक्रेश्वर आधारभूत विद्यालय, नमुना जनजागृती आधारभूत विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र हस्तिकेशर वैयाकरण लीलानाथ आधारभूत विद्यालयलाई फर्निचर सामाग्री हस्तान्तरण गरेको हो ।