Aafno Khabar

आफ्नै स्कुल बसले किचेर मोरङमा २ बालबालिकाको ज्यान गयो

  • आफ्नो खबर
  • २०७९ असार १७ गते १५:२० प्रकाशित

मोरङ । स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका दुई बालबालिकाको ज्यान गएको छ। मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा दुई विद्यार्थीको ज्यान गएको हो।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो।

हृतिकको घटनास्थलमै ज्यान गएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए। आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

आक्रोशित स्थानीयले स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए।बुधबार अबेर पीडित पक्ष र नगर प्रमुख बडा अध्यक्षसहितको बैठकमा विद्यालयले पीडित परिवारका दुई बालबालिकालाई रंगेली नगरपालिका भित्रका जुनसुकै निजी विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पढाइदिने भएको छ।

यस्तै परिवारलाई क्षतिपूर्ति स्वरूप ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको थियो। प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ।