Aafno Khabar
babasaik siksa

कांग्रेसले तोड्यो एमालेको रेर्कड, ६६१ पालिकाको नतिजामा कसले कति जिते ?

  • आफ्नो खबर
  • २०७९ जेष्ठ ६ गते १९:२३ प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७ सय ५३ मध्ये २ सय ९४ स्थानीय तह जितेको थियो ।

यस पटकको निर्वाचनमा काँग्रेसले एमालेको पुरानो रेकर्ड तोड्दै सवै स्थानीय तहको मत परिणाम नआँदै २ सय ९६ स्थानीय तह जितेको छ ।

अहिलेसम्म ६ सय ६१ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । घोषित परिणाममा नेकपा एमालेले १८३ पालिका जितेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र १ सय १३ पालिकामा विजयी हुँदा जनता समाजवादी पार्टी (जसपा) ले २० स्थानीय तह जितेको छ ।

नेकपा एकीकृत समाजवादी १४ पालिकामा विजयी भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी ९ ठाउँमा विजयी भएको छ ।

यस्तै राप्रपाले ४ वटा, जनमोर्चाले ४ वटा, जनमत पार्टीले ३ वटा, नागरिक उन्मुक्ति पार्टीले २ वटा, नेपाल मजदुर किसान पार्टीले एउटा र अन्य दल तथा स्वतन्त्रले २६ वटा पालिका प्रमुखमा जीत हासिल गरेका छन् ।

हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये कांग्रेस २६ ठाउँमा अगाडि छ भने एमाले १९ ठाउँमा अगाडि छ ।

यस्तै माओवादी केन्द्र ११, जसपा १३, एकीकृत समाजवादी पाँच र लोसपा र अन्यले सात सात पालिकामा अग्रता लिएका छन् ।