धेरै–धेरै वर्ष पहिलेको कुरा हो,भारत–वर्ष अन्तरगतको एक राज्यमा यौटा डाँकु रहन्थ्यो जसको नाम औंलामाला–डाँकु थियो । शरीरको दार–पात भयङ्कर ठूलो,आखा राता–राता, मानौं देख्दा राक्षस जस्तै डरलाग्दो यस डाँकुले आफ्नो सामुन्ने जो ब्यक्ति आउँछ, उसको यौटा औंला काटेर मालामा उनी आफ्नो गलामा लाउने गर्दथ्यो।
यस डाँकुले सामुन्ने आऊने ब्यक्तिहरुले आफ्ना हातको एक औंला कट्न दिएमा त्यो औंला मात्र काटेर लिन्थ्यो, ज्यान मार्दैनथ्यो । तर यदि कुनै ब्यक्तिले यस डाँकुले औंला माग्दा दिन नमानेमा टाउको काटेर त्यस ब्यक्तिलाई मारिदिन्थ्यो । अनि एक औंला काटेर माला उनी लाउँथ्यो। यसको छातिभरी मानिसहरुको रगतका डामैडाम थिए ।
१०८ भन्दा बढी औंलाको माला बनाएर लाउने यसले अठोट बोकेको थियो। यो डाँकु एक डरलाग्दो बनको माझ मूलबाटो बीच रहेर यस्तो धन्दा गरिरहन्थ्यो। यसलाई यस्तो अपराधी कार्य गर्न हुन्न भनेर सम्झाउने, बुझाउने, हप्की–दप्की गरेर डर देखाउने हिम्मत कसैलेपनि गर्न सकेका थिएनन। यसको छातीमा ६० भन्दा बढी मानिसको हातका औंलाको माला भिरेको थियो। यो कुराको पत्तो पाएका ब्यक्तिहरु औंलामाला डाँकु रहेको बाटो भएर हिड्ने गर्दैनथे।
एक समयमा एक जना सन्तलाई भिक्षुक भएर त्यहि बाटो हुँदै अर्को कुनै गाउँमा जानपर्ने अवस्था भएछ। भिक्षुक त्यतै भएर जानभनी बनको नजिक आइपुग्दा त्यहाँ रहेको अर्को एक ब्यक्तिले भन्न लागेछन ‘हे भिक्षुक तपाई त्यता नजानुहोस, त्यता अलिक पर एक दुष्ट औंलामाला नाम गरेको डाँकु बसेको छ’ त्यसले आफ्नो सामुन्ने आऊने मान्छेजति सबैको औंला काटेर तिनै औंलाको माला उनेर गलामा लाउने गर्छ।
त्यो बाटो जानी हो भने त्यस अपराधीबाट बाँचेर उता जान सकिँदैन। भिक्षुकले भने ‘मलाई त्यस डाँकुको डर कत्ति पनि छैन, त्यही बाटो भएर पल्लो गाउँमा छिर्न परेको छ, जानकारी दिनुभएकोमा तपाईंलाई धेरै–धेरै धन्यवाद छ ।
म त्यहि बाटो भएरै जान्छु, भन्दै ती भिक्षुक डाँकु रहेको बाटो भएरै गए। डाँकु नजिकै पुगेपछि दाहिने हातमा कमाण्डलु र देब्रे हातमा दण्ड भएका भिक्षुकले (अलक शंङ्कर भिक्षामा देही भिक्षामा देही–भिक्षाम देही) भन्दै याचना गरेको सुनेर औंलामाला डाँकुले भन्यो ‘हे भिक्षुक तैले भिक्षा मागेको हुनाले मर्नबाट बाँचिस,अब खुरुक्क यहाँबाट कता जानीहोस गैहाल ।
यस ठाउँमा यसरी उभिएर धेरैबेर रहन मिल्दैन। डाँकु उत्तानो भएर लम्पसारपरी सुतिरहेको थियो, उसको छातीभरी रगतका डामैडाम देखिन्थे । उसको गलादेखि छातीसम्म मानिसको हातका औंलै–औंलाको माला झुण्डिइरहेको थियो।
औंलामाला डाँकुको यस्तो बोली सुनेपछि भिक्षुकले भने– ‘हे महाराजाका पनि महाराजा, तपाईं जस्ता महान ब्यक्तिको ढोकामा याचक बनेर आइसकेपछि मैले यहाँबाट भिक्षाको रुपमा केही बस्तु नलिइ जान मिल्दैन, मलाई छिट्टैगरी भिक्षा दिनुहोस, यसमा बिलम्ब कत्तिपनि नगर्नुहोस। भिक्षुकको यस्तो कुरा सुनेर औंलामाला डाँकुले भन्नलाग्यो– हे भिक्षुक भिक्षाको रुपमा दिने वस्तु मसँग केही छैन, तपाईंलाई के दिएर पठाउँ मैले ? यो सुनेर भिक्षुकले भने–हे शक्तिप्रवल महाशय, तपाईंको दायाँ–बायाँ, अघि–पछि जे छ मलाई त्यहि दिए हुन्छ, बिलम्ब नगरी चाँडो दिनुहोस।
भिक्षुकको यस्तो कुरा सुनेपछि औंलामाला डाँकुले एक हातले तरबार उठाएर आफु नजिकैको यौटा बोट छ्याप्प काटेर ल भिक्षा यहि भयो ,यो लिएर यहाँबाट तुरुन्तै गैहाल भनी भिक्षुकलाई भिक्षाको रुपमा बिरुवा काटेर दियो। यो देखेर भिक्षुकले भने– हे औंलामाला डाँकु मैले त्यसरी काटेर दिएको बोट भिक्षाको रुपमा ग्रहण गर्न सक्दिन, त्यस काटेको बोटलाई जोडेर पहिले जस्तो थियो त्यस्तै बनाएर दिन सक्यौ भने मैले स्वीकार गर्नेछु, अन्यथा स्वीकार्न सक्दिन।
भिक्षुकको यस्तो बोली सुनेर डाँकुले भन्यो– हे भिक्षुक एकताली काटेको बोटलाई मैले पहिलेको जस्तै बनाउन त सक्दिन नी। यो त काटेपछि काटियो–काटियो,पहिलेको जस्तै यसलाई कसले बनाउन सक्छ र ? त्यस डाँकुको यस्तो कुरा सुनेपछि भिक्षुकले भन्नलागे – हे औंलामाला डाँकु, एक पटक काटिसकेको बोटलाई फेरि पहिलेको जस्तै बनाउन सकिन्न भने त्यस बोटलाई तिमीले किन काट्यौ ?
तिमीलाई यसरी मानिसहरुको हातका औंला काटेर माला बनाई गलामा भिर्ने अधिकार कस्ले दियो ? तिमीले यस धरतीमा जन्म लिएर गर्नुपर्ने कर्म यहि हो भनेर कसले तोकिदियो ? जीवन तिम्रो मात्र हो? यसरी तिमीबाट काटिएर आफ्नो औंला गुमाएका मानिसहरुको जीवन जीवन होईन ? अरुको जीवनलाई दुःख दिएर, मारेर औंलाको माला बनायी गलामा लाउने सोख सिकाउने तिम्रो गुरुको हो ?
बलपूर्वक मानिसहरुको हत्या गरेर तिनको औंला काटी माला बनाएर लगायी मोज गर्ने अधिकार तिमीलाई कसबाट प्राप्त भएको हो ? तिमीबाट हातका औंला काटिएका, मारिएका मानिसहरुलाई यहाँ बांच्ने अधिकार थिएन ? तिमीबाट औंला काटिने मानिसहरुलाई दुःख, पीँडा भएन होला ?
तिमीले गर्दै आएका यी सबै कर्मको फल क–कसले बेहोर्छ ? ती भिक्षुका यस्ता घतलाग्दा बाणीहरु सुनेर त्यो दुष्ट औंलामाला धारी डाँकु नतमस्तक भै बडो बिनम्र भावगरी बिन्तिगर्न लाग्यो – हे भिक्षुक, मैले आजसम्म घोर अपराध गरेको रहेछु। मेरा ज्ञानका आँखा तपाईंले खोलिदिनु भयो।
तपाईंका ती सवालहरुको जवाफ दिन मसँग कुनै योग्यता छैन। आज उप्रान्त मैले यो सबै थोक त्यागिदिन्छु, मलाई माफ गर्नुहोस र मैले गरेका यी सबै दुष्कर्महरुबाट उन्मूक्ति मिल्ने कुनै उपायहरु भए कृपया बताइदिएर कृतार्थ बन्ने मौका प्रदान गर्नु हवस।
यो सुनी भिक्षुकले भने– हे डाँकु, ढीलै भएपनि तिमीले आफ्नो गल्ती महसूशगरी पश्चाताप समेत गरेकोमा तिमीलाई धेरै–धेरै धन्यबाद। आजदेखि यस्ता कर्महरु गर्न तिमीले चटक्कै छाड्यौ र सकेसम्म अरुको हित हुने कर्म गर्दै गयौ,अरुको अहित हुने जस्ता कुनैपनि कर्महरु कहिल्यै गरेनौ भने पक्कै पनि तिम्रो कल्याण हुनेछ !
यस्ता उपदेशहरु त्यस डाँकुलाई दिएर भिक्षुक त्यहाँबाट आफ्नो गन्तब्यतिर लागे,औंलामाला डाँकु भिक्षुकलाई साष्टाङ्ग प्रणाम गरेर नजिकको सरोवरमा गै आफ्ना गलामा धारण गरेको औंलामालालाई सरोवरको जलमा समर्पण गरेर स्नानादि कर्मबाट निवृत भै सद्कर्मको बाटो अगाल्ने प्रण गर्दै आफ्नो गन्तब्य मार्ग तिर लाग्यो। स्मरण रहोस, यहाँ भिक्षुक बनेर भूमिका निर्वाह गर्ने सन्त उनै भगवान बुद्ध थिए। अस्तु !