Aafno Khabar

भारतमा भयावह बन्दै कोरोना, एकै दिन ५८ हजार संक्रमित, ५३४ जनाको ज्यान गयो

  • आफ्नो खबर
  • २०७८ पुष २१ गते १४:१७ प्रकाशित

प्रतिकात्मक तस्बिर ।

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।

कोभिडका कारण भारतभर पछिल्लो २४ घन्टामा ५३४ जनाको ज्यान गएको छ । भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाँ भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।