Aafno Khabar

कांग्रेसको गण्डकी अधिवेशनमा मतदान सकियो, कस्ले मार्ला बाजी ?

  • आफ्नो खबर
  • २०७८ मंसिर १८ गते १८:५४ प्रकाशित

प्रदेश अधिवेशनमा मतदान गर्दै कांग्रेस नेता रामचन्द्र पौडेल

कास्की । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको हो ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेद्वार छन् ।

दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आँकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ । तर प्रतिनिधिहरु पौडेल पक्षका धेरै भएका कारण संस्थापनलाई आफ्नो पक्षमा नतिजा ल्याउन समस्या हुनसक्ने आँकलन गरिएको छ ।

युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन् । कास्कीमा तीन निर्वाचन क्षेत्र छ ।

जोशी पर्वतका हुन्, जहाँ एउटा मात्रै निर्वाचन क्षेत्र छ । भुगोलको प्रभाव पर्यो भने शर्माको पल्ला भारी हुन सक्ने मतदाताको अनुमान छ ।