Aafno Khabar

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, संक्रमण दर फेरी बढने चेतावनी

  • आफ्नो खबर
  • २०७८ मंसिर ११ गते १०:४१ प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड–१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो ।

संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ रहेको समेत बताएको छ । ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोमिख बढी रहेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।

नयाँ भेरियन्ट पत्ता लागेको समाचार बाहिर आएलगत्तै युरोपेली युनियन र बेलायतले दक्षिण अफ्रिकी मुलुकबाट हुने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने हवाई यात्रामाथि प्रतिबन्ध लगाउने भएको छ ।

भारतले समेत दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको कडा स्क्रिनिङ र परीक्षण गरिने बताएको छ । तर ओमिक्रोनको पहिचानपछि अन्तर्राष्ट्रिय प्रतिक्रियाप्रति दक्षिण अफ्रिकाले असहमति जनाएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले हवाइ यात्रामाथि प्रतिबन्ध लगाउने विभिन्न मुलुकको कदमलाई ‘गलत’ भन्दै निन्दा गरेका छन् ।