Aafno Khabar
sanima bank

चितवन बन्यो इपीएलको च्याम्पियन, व्यक्तिगत अवार्डमा पनि चितवनको क्लिनस्वीप

  • आफ्नो खबर
  • २०७८ आश्विन २३ गते १९:४५ प्रकाशित

काठमाडौं । भीम सार्कीले अर्धशतक बनाएको खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर १ सय १२ रनको लक्ष्य पूरा गर्यो । चितवनका लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेले । भीमले ६३ रनको शानदार इनिङ खेले ।

यस्तै, दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन जोडे । बलिङतर्फ पोखराका किशोर महतोले ४ विकेट लिए । नन्दन यादवल २ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको पोखरा १ सय ११ रनमा समेटियो ।

पोखराका रिचार्ड लेभी २६ तथा विपिन रावलले १७ रन बनाए । असेल गुणारत्ने ३४ रन खेलेर पेभेलियन फर्किँदा कप्तान विनोद भण्डारीले २२ रन बनाए । पोखराका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुगे प्रसन्नाले २–२ तथा कप्तान सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए । चौथो संस्करणको च्याम्पियन बनेको चितवनले ५० लाखसहित ट्रफी हात पारेको छ ।

यस्तै, उपविजेता पोखराले १५ लाख रूपैयामा चित्त बुझायो । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाएको यो अहिलेसम्मकै ठूलो राशी हो ।

यसैबीच चितवन टाइगर्सका स्पिनर सागर ढकाल ईपीएलको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । चितवनलाई उपाधि दिलाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सागरले सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका हुन् ।

चितवनलाई उपाधि जिताउन सागरले ७ खेलमा १४ विकेट लिए । चितवनकै ब्याट्सम्यान भीम सार्की ‘इमर्जिङ प्लेयर’ चुनिए । चितवनका कमलसिंह ऐरीले ‘डेर टु ड्रिम अवार्ड’ पाए ।