Aafno Khabar

काठमाडाैंमा याे वर्षकै ठूलाे वर्षा, तीन घण्टामा १०५ मिलिमिटर पानी

  • आफ्नो खबर
  • २०७८ भाद्र २१ गते ०८:५२ प्रकाशित

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत भन्दा तल रहे पनि पश्चिम बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा भारी वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् ।

आइतबार राति देखि काठमाडौं लगायत देशका केही स्थानमा भारी वर्षा भएको र काठमाडौंमा यो वर्षकै ठूलो पानी परेको अर्यालले बताए । उनका अनुसार काठमाण्डौमा राति साढे २ बजेदेखि पानी पर्न थालेकाे हाे । बिहान छ बजेसम्ममा त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ ।

यद्यपी, पछिल्लो तथ्याङ्क संकलन नभइसकेकाले यो भन्दा धेरै वर्षा भएको अनुमान मौसमविद् अर्याललको छ । रातिदेखिको लागतार वर्षाको कारण काठमाडौंसहित उपत्यकाको धेरै स्थान जलमग्न बनेका छन् ।

भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ । नदीछेउका बस्तीहरूमा डुबान भएको छ । बल्खुस्थित तरकारी बजारमा पानी पसेको छ र बागमती करिडोरको बाटोमा पानी डुबान भएको छ ।

हाल देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमाभारी वर्षाको सम्भावना रहेको र राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार मंगलबार पनि काठमाडौंसहित गण्डकी, कर्णाली तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।