Aafno Khabar

बिहीबार थपिए तीन हजार ९३८ संक्रमित, उपत्यकामा मात्र १ हजार बढी

  • आफ्नो खबर
  • २०७८ साउन २१ गते १८:०० प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

११ हजार ८ सय ७० पिसिआर परीक्षणमा तीन हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

यही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ । संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ भएको छ ।

यही अवधिमा संक्रमणबाट ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कुल मृतक संख्या ९ हजार ९ सय ९४ पुगेका छन् । हाल देशभर ३४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये सबैभन्दा बढी काठमाडौंमा ७ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ । भक्तपुरमा १ सय ४६ र ललितपुरमा १ सय ६३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६८ जना रहेकाे छ ।