Aafno Khabar

एमालेले जाेगाइदियो सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पद

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २५ गते १३:३३ प्रकाशित

काठमाडाैं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिएका छन् । उनले ३० मत पाएका हुन् । विपक्षमा ९ मत परेको छ ।

उनको पक्षमा उनकाे दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ मत परेको हो । नेपाली कांग्रेसका १२ जना तठस्थ रहेका थिए । मुख्यमन्त्री भट्टलाई एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका एमालेका ७ र राजपाका दुई जनाले मत दिएनन् । हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका सभामुख सहित २५ जना प्रदेश सभा सदस्य छन् । सभामुखले मतदानमा भाग लिएनन् ।

तीन वर्ष तीन महिना अघि २०७४ मा एमाले र माओवादीका ३९ जना प्रदेश सभाका सदस्य समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

सत्ता साझेदार नेकपा (एमाले )को स्थायी समितिले समर्थन फिर्ता लिएको र प्रदेशको संसदीय दलले समर्थन कायम रहेको निर्णय गरेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।

हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३, नेपाली कांग्रेसका १२, राजपाका दुई प्रदेश सभा सदस्य रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा एमाले प्रवेश गरेका कारण कार्वाहीमा परेर माओवादीका एक प्रदेश सभा सदस्य रिक्त भएपछि सो संख्या ५२ भएको हो ।