फाइल फाेटाे ।
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकाे यस्ताे परिस्थिति आउनुकाे प्रमुख जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली भएकाे बताएका छन् ।
साेमबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफूलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफू कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश फेरि दुस्चक्रमा फस्दै गएको दाबी गरी त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ कि यो सदनले उहाँलाई विश्वासको मत दिँदैन,’ संसदमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईंको सरकारले गरेका काम हेर्दा विश्वासको मत पाउने कुनै आधार छैन ।’
उनले यो मञ्चबाट बोल्दै गर्दा आफू खासै खुसी नभएकाे पनि बताए । उनले भने, ‘हामीले के सोचेर संविधान बनायाैँ । तर, अहिले फेरि नेपाल दुष्चक्रतिर फस्दै गएको देख्दा म साँच्चै खुसी छैन । फेरि जोडघटाउ । उही अविश्वास प्रस्ताव । म अहिले बौल्दै गर्दा सन्तुष्टि प्राप्त भएको छैन ।’
सरकारका कारण संविधानलाई नै कोरोना लागे जस्तो भएको पनि उनकाे भनाइ थियाे ।