Aafno Khabar

कोरोना खोपको एक डोजले मात्र संक्रमण दर आधा घट्ने

  • आफ्नो खबर
  • २०७८ बैशाख १७ गते ०८:१४ प्रकाशित

एजेन्सी । कोरोनाभाइरस खोपको एउटै मात्राले घरभित्र हुने सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने एउटा अध्ययनले देखाएको छ। फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्गल्यान्ड पीएचईले जनाएको छ।

सो निष्कर्ष खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनको भएको पीएचईले जनाएको छ। पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्तापछि लक्षणसहित सङ्क्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ।

पीएचईकी खोप प्रमुख डा. मेरी रामसे भन्छिन्, ‘खोप हाम्रो जीवनलाई साधारण अवस्थामा फर्काउन मद्दत गर्न महत्त्वपूर्ण छन्। खोपले रोगको गम्भीर असर कम मात्रै गर्दैनन्, दैनिक सयौँ ज्यान जोगाउन मद्दत गर्छन्।’ अहिले हामीले कोभिड–१९ अरूलाई सर्ने सम्भावनालाई कम गरेर खोपले थप प्रभाव देखाइरहेको पाएका छौँ ।

उनले अहिले प्राप्त जानकारी उत्साहजनक भए पनि मानिसहरूले आफूसँग भाइरस भएजस्तै गरी व्यवहार गर्नु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हात धुने र दुरी कायम गर्ने मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइन्। घरलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिन्छ। पछिल्लो अध्ययनले खोपले सङ्क्रमण थप फैलन रोक्ने प्रारम्भिक प्रमाण उपलब्ध गराएको पीएचईको भनाइ छ।

यस्तै नतिजा सङ्क्रमणको जोखिम रहेका जेल वा संयुक्त आवास जस्ता अरू साझा आवास क्षेत्रमा पनि अपेक्षा गर्न सकिने पीएचईको भनाइ छ।युनिभर्सिटी अफ वारविकका सङ्क्रामक रोग विशेषज्ञ माइक टिल्डिसलेले पछिल्लो निष्कर्ष महत्त्वपूर्ण रहेको र मानिसहरूले खोपलाई स्वीकार गर्नुपर्ने बताए।

बीबीसीका विज्ञान संवाददाता पल्लव घोष भन्छन्, खोपले भाइरसको सङ्क्रमणको दरलाई घटाइरहेको र ज्यान जोगाइरहेको सङ्केत पछिल्लो प्रमाणले दिएको छ। उनका अनुसार सङ्क्रमण विस्तार हुने प्रमुख ठाउँ घरधुरी भएकाले पछिल्लो अध्ययनको परिणाम विशेष रूपमा उत्साहवर्द्धक छ। घोषका अनुसार नयाँ प्रकारका भाइरस देखा परेसँगै खोपहरू तीनमा कम प्रभावी हुने चिन्ता छ जसले नयाँ सङ्क्रमणका घटनामा वृद्धि गराउन सक्छ।

तर विज्ञहरूले अहिलेका खोपहरूले विशेष गरी गम्भीर प्रकारका बिरामीहरूमा उल्लेख्य सुरक्षा प्रदान गर्ने बताइरहेका छन्।