Aafno Khabar

उकालाे लाग्न थाल्याे काेराेना ग्राफ, २४ घण्टामा थप ६०३ जनामा संक्रमण

  • आफ्नो खबर
  • २०७८ बैशाख १ गते १९:५९ प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो भने ४५१ जनाको एन्टिजेन्ट परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५६४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्रै २५४ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ ।

२४ घण्टामा १२९ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ४४७ पुगेको छ ।  हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोनाको नयाँ प्रजाति देशव्यापी रुपमा फैलिएको बताएका छन् ।

उनले लकडाउन गर्नुपर्ने परिस्थिति आउन नदिन सचेत हुनुपर्ने बताए । काठमाडौं, पोखरा, भक्तपुर, नुवाकोट र दार्चुलामा समेत यूके भेरिएन्ट फैलिएको उनकाे दाबी छ ।