Aafno Khabar

के भिटामिन ‘डी’ ले कोभिड-१९ बाट जोगाउँछ ?

  • आफ्नो खबर
  • २०७७ पुष १३ गते प्रकाशित

एजेन्सी । भिटामिन डी थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड–१९ बाट अतिरिक्त सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको विज्ञहरूको एउटा समूहले औँल्याएको छ।

उक्त समूहले भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको उत्तर फेला पार्न थप अनुसन्धानको आवश्यकता रहेको बताएको छ।

तर जाडो महिनामा र घाममा कम बस्न पाउने अवस्थाका मानिसहरूले आफ्नो शरीरको हड्डी र मांसपेशीलाई स्वस्थ राख्नका लागि भने भिटामिन डी सप्लिमेन्ट भनिने अतिरिक्त मात्रा ग्रहण गर्नु उचित हुने सुझाव दिइएको छ।

स्वास्थ्य अधिकारीहरूले भिटामिन डी र कोभिड–१९ को सम्बन्धका विषयमा प्रस्तुत गरिएका प्रमाणहरूको समीक्षा गरेका थिए।

केही सानो सङ्ख्यामा भएका अध्ययनहरूले श्वासप्रश्वास प्रणालीका रोगहरूसँग सम्बन्धित भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई उचित प्रतिक्रिया जनाउन सघाउन भिटामिन डीको सम्बन्ध हुनसक्ने देखाएका थिए।

तर ती विज्ञ तथा स्वास्थ्य अधिकारीहरूले उक्त भाइरस सङ्क्रमण रोक्न र कोभिड–१९ रोगको उपचारमा भिटामिन डीको प्रयोग गर्ने सिफारिस गर्न र सुझाव दिनका लागि प्रमाणहरू अपर्याप्त रहको पाइएको बताएका छन्।

प्रस्तुत प्रमाणहरूको अध्ययन गरेका स्वास्थ्य विज्ञहरूले भनेका छन् कुनै निष्कर्षमा पुग्नुअघि थप उच्चस्तरीय र नियन्त्रित प्रकृतिका परीक्षणहरू गरिनु आवश्यक छ।