काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ नयाँ परराष्ट्र नीति सार्वजनिक भएको हो ।
परराष्ट्र नीतिमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
नयाँ परराष्ट्र नीतिले छिमेकीलगायत सबै देशसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्नु, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन, विश्वशान्ति स्थापनाको मूल उद्देश्य लिइएको छ ।
यस्तै निःशस्त्रीकरण, मानव अधिकारको संरक्षण र प्रवर्द्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनीकरण, महामारी, आतङ्कवाद तथा ‘साइबर’ अपराध नियन्त्रण, सुरक्षित आप्रवासन र भूपरिवेष्ठित राष्ट्रका अधिकार प्राप्तिका लागि बहुपक्षीय मञ्चमा प्रभावकारी भूमिका निर्वाह, विधिमा आधारित न्यायपूर्ण, समावेशी र निष्पक्ष विश्वव्यवस्था निर्माणका लागि सहकार्य गर्ने, क्षेत्रीय सहयोग, शान्ति र सहकार्यको प्रवर्द्धनलाई नीतिले मूल उद्देश्य लिइएको छ ।